प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै आफूले पनि उक्त कुरामा सहमत रहेको बताए । कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरूको खेलप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरे । ‘नेपाल खेलकुदमा धेरै नै अघि बढेको छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ । तर पनि आलेम्पिकलगायत धेरै विधाबाट भाग लिएका हाम्रा साथीहरू हुनुहुन्छ । हाम्रा युवाहरु पनि धेरै खेलकुदमा रमाउँछन् । हाम्रो मन्त्रीज्यूले त मलाई खेलकुद युनिभर्सिटी खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ’, उनले भने, ‘तर, अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तर पनि शुरुवात गर्ने हाम्रो सोचाइ छ । शुरुवात गर्नेछौँँ । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’