
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले शुक्रवार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तर्क्रियामा उनले बताए ।
सेवामूलक संस्थाका सञ्चालक नाफामुखी भएका उनको भनाइ थियो । ‘गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइँदैन, सूचना लकाइन्छ,’ नगर प्रमुख पोखरेलले भने ।
गरीबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौं रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले कीर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानून सबैलाई बराबर हुने बताउँदै गैरसरकारी संघसंस्थाले सूचना लुकाउन नमिल्ने र सबै संघसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानून बमोजिम सजाय हुने बताए ।
आयोगका अर्का आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताहरूको सहभागिता थियो ।