
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले कारबाही गरेको हो ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्नेमा त्यसरी विवरण नबुझाउने १,२३,६२४ जना उम्मेदवारलाई आयोगले कारबाही गरेको हो।
आयोगका अनुसार १,१४,९५८ जना उम्मेदवारहरूले ३० दिनभित्र खर्च विवरण बुझाएका थिएनन् भने ८,६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए । उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो नदेखिएपछि कारबाहीको निर्णय भएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कारबाहीमा पर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धरानका उपमेयर हर्क साम्पाङ समेत रहेका छन् । यस्तो जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने हुन्छ ।
००००
यसैगरी निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।
००००
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।
सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेदन शनिबार बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
संसद् आगामी असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्ताव संसद्को अर्को अधिवेशनसम्म लैजान नहुने बताएको छ । एमाले सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव संसद्को अर्को अधिवेशनमा लैजाने कुरा सम्भव नरहेको बताएका हुन् ।
००००
नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौँमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन् । यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङ्मा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
००००
पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनामा गरिएको नमुना परीक्षणमध्ये ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
००००
निर्वाचन आयोगले राजनीतिक दलहरूले २०७४ सालमा समानुपातिक निर्वाचनतर्फ बुझाएको उम्मेदवारको बन्द सूची खारेज गरेको छ । ायोगले ५ वर्षअघि दलहरूले बुझाएको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने जनाएको छ ।
००००
काठमाडौंको नयाँ बानेश्वर चोकमा नक्सापासविपरीत बनेको संरचनामा महानगरले डोजर चलाएको छ । संसद् भवनको पश्चिमपट्टी रहेको सूर्य–उजेली भवनमा रहेको बेसमेण्टमा महानगरले डोजर चलाएको हो ।
पार्किङ भनेर नक्सा पास गरिए पनि पसल राखेको पाइएपछि महानगरले भत्काउन शुरु गरेको छ । त्यसक्रममा घरधनी र महानगर प्रहरीबीच भनाभन भएको थियो । पसलमा रहेका सामान हटाएर बेसमेण्ट भत्काउने सहमति भएको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव ३८ मा सीमित भएको छ ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार दुई राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए ।
००००
परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
००००
सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
००००
नेकपा एमाले शनिबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने बताइएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्ड भट्टराईलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटका क्रममा गम्भीर वैचारिक–राजनीतिक छलफल भएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
००००
सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उनको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएशनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिएका हुन् । यसैबीच कैलालीमा अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ ।
००००
सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । ०३२ सालमा स्थापना भएको सो कोषमा अहिले ६९ अर्ब रकम पुगेको शुक्रवार पत्रकार सम्मेलन गर्दै कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले जानकारी दिए ।
००००
चलचित्र विकास बोर्डले गठन गरेको सल्लाहकार समितिलाई लिएर विवाद शुरू भएको छ । बिहीवार बोर्ड अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले नीर शाहको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । उक्त समिति गठन भएको २४ घण्टा नबित्दै विवाद शुरू भएको हो । सल्लाहकार समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको तर्फबाट निर्वाचन आयोगमा बुझाइने समानुपातिक बन्दसूचीको नामावली टुंग्याउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । शुक्रवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले बन्दसूची बुझाउने जिम्मेवारी अध्यक्ष ठाकुरलाई दिएको हो । यसैगरी जनता समाजवादी पार्टी नेपालले पनि समानुपातिक उम्मेदवारको विषयमा छलफल सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय बोर्डबाट सिफारिस भएको समानुपातिक उम्मेदवारहरूको बारेमा छलफल सुरु भएको प्रवक्ता मनिष सुमनले बताए ।
००००
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान १०ः ३४ बजे देवी विसर्जन गरी ११ः ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
००००
भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार शुक्रवार नयाँ मूल्यसूची भारतले पठाएको हो । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेर आएको निगम स्रोतले जानकारी दियो । नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहेको छ ।
००००
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
००००
नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ । राष्ट्रिय खेलकुद अन्तरगत भएको ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।
००००
भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।