
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । आज भोलि यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।
बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टागेर ओत बसेको एकान्त टोलका मेघु बोहराको भनाइ छ । “घर, भित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्”, उनको भनाइ छ, “घरभरि माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो ।”
जङ्गलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ ।
एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको छ । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, विसं २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने ।
बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुमवासी पनि बिचल्लीमा परेका छन् । त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन् । वर्षेनी बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुमवासीको गुनासो छ ।