
झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा इलाम चुलाचुली–४ का २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राईलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले लालबहादुरलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेका थिए । उनीहरूले गत बुधवार बेलुकी झापाको बेल्डागीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका लालबहादुरलाई आक्रमण गरी हत्या गरेका थिए ।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको ३ दिन अगाडि मृतक गुरुङले घटनामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपीहरूले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।