युक्रेन द्वन्द्व तेस्रो विश्वयुद्धमा परिणत हुन सक्ने अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार चेतावनी दिएका छन् ।
आफ्नो भौगोलिक अखण्डता जोखिममा परेको अवस्थामा मस्कोले प्रतिरक्षाका लागि सबै उपाय अपनाउने भनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएपछि ट्रम्पको टिप्पणी आएको हो ।
आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा ट्रम्पले युक्रेन द्वन्द्व शुरू नै हुनु हुँदैनथियो भनी लेखे ।
आफू ह्वाइट हाउसमा भइरहेको भए मस्को र किएभबीच झगडै हुने थिएन भनी ट्रम्पले दाबी गरे ।
‘मैले स्पष्ट रूपमा केही समयदेखि भन्दै आएको छु, यसले तेस्रो विश्वयुद्ध गराउन सक्छ,’ उनले थपे ।
बुधवार पुटिनले ३ लाख जगेडा सैनिकको आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए । त्यससँगै आफ्ना जनताको सुरक्षाका लागि मस्कोले सबै उपाय अपनाउने बताए । उनले आणविक हतियार पनि प्रहार गर्न सकिने संकेत दिए ।