
काठमाडौं, १९ साउन – सरकारले होइन एउटा मातहतको निकायले मन्त्रीलाई असजिलो नहोस भनेर दिएको गाडिकै कारणले अहिले प्रहरीमा रुवावासी सुरु भएको छ ।
कहिले काँही झण्डा नभएको गाडिमा हिँड्न सजिलो होस भनेर प्रहरी प्रधान कार्यालयले गृहमन्त्री जनार्दन शर्मालाई दिएको स्कार्पियो जीप अहिले प्रहरीकै लागि घाँडो बनिरहेको छ ।
सोमवार गृहमन्त्रीका छोराले घुमफिरका लागि लिएर हिँडेको गाडि बाटोमै विग्रिँदा विग्रेकै ठाउँमा पुगेर गाडि बनाउनुपर्दा, सट्टामा अर्को गाडि पुर्याउनुपर्दा र त्यो गाडि पनि ठिक छैन भनेपछि टल्क्याएर फेरि अर्को गाडि पुर्याइदिनुपर्दा प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका प्राविधिकहरु हैरान भएका छन् ।
धादिङको नौबिसेमा गृहमन्त्री पुत्रले विहानै गाडि विगारेका थिए । चालक सहित हिँडेका उनको गाडि विग्रीएपछि हेडक्वाटरमा खबर आयो । त्यहाँबाट चार जना मेकानिक नौबिसे पुगे । गाडिको क्लच प्लेट विग्रीएको रहेछ ।
गृहमन्त्रीका छोरालाई गाह्रो नहोस भनेर प्रहरीले सान्टो गाडि पठाएको छ ।
विग्रीएको गाडि राति सम्म मर्मत गरेर हेडक्वाटर लिइएको छ । गृहमन्त्रीका छोराले सान्टो राम्रो नभएको भन्दै सो गाडि पनि फिर्ता गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।