
वर्षाैदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।
पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवि पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी÷ करार÷ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा धर्ना दिइएको हो । धर्नापछि आयोजित विरोध समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरीले पत्रकारविरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिए ।
उनले छिट्टै बैठक बसेर महासंघ कै नेतृत्वमा आन्दोलनको नयां कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीविको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पारे । उनले अबको आन्दोलनको अगुवाई महासंघले गर्ने पनि जानकारी दिए । महासचिव पुरीले महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको सम्झौता नवीकरण गर्न माग गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पूर्वअध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए । उनले दीर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताए ।
संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्नाप्रति ऐक्यबद्वता जनाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरिन् ।
समाजवादी प्रेस संगठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारको अधिकार सुनिश्चित गरी उनीहरुलाई न्याय दिन रासस व्यवस्थापनसँग अनुरोध गरे ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवि पत्रकारलाई निश्कासन गरे प्रेस चौतारी कडा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले राससका २२ जना श्रमजीवि पत्रकारलाई हटाइएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिँदै त्यस्तो अवस्था आउने छैन भन्ने विश्वास व्यक्त गरे ।
श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवि पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताए । उनले श्रमजीवि पत्रकारलाई हटाउँछु भन्ने कल्पनासमेत नगर्न चेतावनी दिए ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजी श्रमजीवि पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न व्यवस्थापनलाई सुझाव दिए ।
प्रेस सेन्टर नेपालका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।
समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउने नियत रासस व्यवस्थापनको देखिएको बताउँदै त्यसविरुद्ध आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताए ।
राससका पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुदै नियत राखेर २० वर्षदेखि कार्यरत रहेका श्रमजीविलाई हटाउन खोजेको जानकारी गराए । उनले रोजगारी सुनिश्चितता नहँुदासम्म आन्दोलन जारी रहने बताए ।
प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बाँस्तोलाले पत्रकार महासंघका पूर्वअध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवि पत्रकारलाई हटाउन खोज्नु लाजमर्दाे विषय भएको बताए । उनले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चतता गर्न माग गरे ।
रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पत्रकारलाई निष्कासन गर्ने सवालमा साथ नरहने बताइन् । उनले ति पत्रकारको रोजगारी गुम्न नदिनका लागि आन्दोलन गर्ने चेतावनी दिइन् ।
नेपाल पत्रकार महासंघ अगुवाईमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रीय कार्यालयमा शुक्रवार दिउँसो १ बजेबाट ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो ।
राससका अस्थायी÷करार÷ज्यालादारी पत्रकारलाई व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।