
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिवार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे ।
उनले नेपाल आर्थिक रुपमा विस्तारै कमजोर बनिरहेको पनि दाबी गरे । महराले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाए । उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरूको गठबन्धन भएको आरोप पनि लगाए ।
‘वास्तवमा संसदीय व्यवस्था अघि बढ्दै जाँदा जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर भन्दा कतै अन्त नै जाँदै छ कि भन्ने मलाई आभाष भएको छ । मैले के पनि देख्दछु भने आर्थिक रुपले देश बिस्तारै शो डाउन हुँदैछ । व्यवस्थाप्रति पनि अलिकति नेगेटिभ चिज जाँदैछ’, महराले भने, ‘यो कारण वास्तवमा हिजो राजनीतिक रुपले हेर्दा हिजो जुन व्यवस्था गठबन्धन भन्दा पहिला नेतृत्व गरेको सरकार थियो, नेकपा एमालेको केपी ओलीले नेतृत्व गरेको सरकार त्यो सरकारको असक्षमताका कारणले शुरु भएको हो । त्यसलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भएको छ । प्रतिगमन सच्याउने, संविधानसंगत बाटोमा हिँडाउने आवश्यक छ । अहिले पनि गठबन्धन अर्कोतर्फ पनि छ । त्यो गठबन्धन भनेको प्रतिगमनकारीहरुको गठबन्धन हो ।’
उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । उनले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताए ।