
पोखरामा प्याराग्लाइडिङ उडानका क्रममा एकजनाको आइतवार मृत्यु भएपछि देशैभरका उडानमा रोक लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरको प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।
अर्को व्यवस्था नभएसम्म देशैभरको प्याराग्लाइडिङ उडानमा रोक लगाइएकाे प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने ‘पहिले उडान प्रतिबन्ध लगाएका छौँ । अब थप अध्ययन गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढ्छ ।’ अहिलेलाई पोखरा मात्रै नभएर देशैभरको प्याराग्लाइडिङ उडानमा रोक लगाएको उनले बताए ।
निरौलाका अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ । प्याराग्लाइडिङको उडानमा प्रतिबन्धसँगै उडान सुरक्षाबारे सुक्ष्म अध्ययन हुने पनि उनले बताए ।