
जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्।
बाँके क्षेत्र नं २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे।
‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन। आश्वासन र सपनाहरू बाँडिरहेको मात्रै छैन। यसअघि पनि यो क्षेत्रले सांसद पायो। पूरै जिल्लाले प्रधानमन्त्री पनि पायो तर बाँकेले के पायो? यो क्षेत्रका जनताले के पाए? यहाँ के विकास भयो?’ उनले भने ‘चौथोपटक चुनाव लडिरहेको छु। फेरि पनि मैले भोट मागिरहेको छु। दुई पटक मन्त्री हुँदामात्रै मैले के के गरें भन्ने कुरा तपाईंहरूले देखिरहनुभएकै छ।’
निवर्तमान भौतिक योजना तथा यातायात मन्त्रीसमेत रहेका उम्मेदवार राईले आफू समग्र जनताको सेवक बनेको पनि दाबी गरे।
‘कोही आइरहेका छन् धर्मको ठेकेदारी लिएर। समाजमा विखण्डन ल्याउन र सामाजिक सद्भाव बिथोल्ने मुद्दा बोकेर भोट मागिरहेका छन्। राजा बन्ने सोच भएकाहरू त्यही पुरानो सोच लिएर चुनावमा आइरहेका छन्’ उनले भने ‘तर म राजा बन्न होइन, तपाईंहरूको क्षेत्रको विकासका लागि भोट मागिरहेको छु। म राजा बन्न वा कसैलाई राजा बनाउन होइन तपाईंहरूको चौकीदार बन्न राजनीतिमा आएको हुँ र फेरि पनि तपाईंहरूकै चौकीदारी गर्नका लागि भोट मागिरहेको छु।’
देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउनका लागि पनि फेरि एकपटक आफूहरूलाई मौका दिन उनले आग्रह गरे।