
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ हेर्ने इच्छा रहेको बताएका छन् ।
शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूरा होस् भनेर शुभकामना समेत दिएका छन् ।
उनी लेख्छन्, 'वाह ! कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु । मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ’महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु ।'
प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्म ‘महापुरुष’ आउँदो शुक्रवार अर्थात कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइलीलगायतको अभिनय छ ।