
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए ।
“तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ, कांग्रेस राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ”, उनले भने। लोकतान्त्रिक आन्दोलनको इतिहास तनहुँसँग जोडिएको उनको भनाइ छ ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए।