
पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो ।
यस क्षेत्रमा चार पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो ।
अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिए ।
नमस्ते रामपुर यातायात प्रालिले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिराका कारण आनन्दीभन्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो । पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडा सदस्य प्रताप सिं थापाले बताए ।