
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका प्रमुख घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागू भइसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड कले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित गरेको प्रसङग उल्लेख गरिएको छ ।
००००
यमपञ्चक अन्तरगत सोमबार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको हो । दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइयो । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । मंगलबार सूर्यग्रहण परेकाले सोमबारै लक्ष्मीपुजा तथा दीपावली पनि मनाइएको छ ।
००००
राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरूको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बीच–बीचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।
००००
दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।
००००
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्नु रहर नभई देशको आवश्यकता रहेको दाबी गरेका छन् । गठबन्धनका कारण टिकट खोसिएकालाई अन्य तरिकाले न्याय गर्ने उनले बताए ।
सत्तारुढ गठबन्धनले सोमवार काठमाडौंमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देउवाले ठूलो लडाइँ लडेर ल्याएको लोकतन्त्र बचाउनको लागि गठबन्धन अपरिहार्य रहेको जिकिर गरेका हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ टुंगोमा र्पुयाउने बताए । प्रचण्डले आगामी चुनावमा प्रतिगमन पक्षधरको पराजित हुने दाबी गरे । सत्तारूढ गठबन्धन प्राकृतिक भएको र एमाले नेतृत्वको गठबन्धन सामन्तीवादीहरूको भएको उनले बताए ।
यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
००००
यसैबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सत्तारूढ गठबन्धन नै वैचारिक धरातलमा बनेको पवित्र गठबन्धन भएको दाबी गरेका छन् । सत्तारूढ गठबन्धनले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गठबन्धनका कार्यकर्तालाई सम्बोधन गर्दै भट्टराईले एमाले नेतृत्वको गठबन्धन अपवित्र गठबन्धन भएको दाबी गरे ।
००००
निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्ने विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोध्ने क्रमलाई जारी राखेको छ ।
आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौंको ४ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौं’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधेको छ ।
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढाल्ने मुख्य योजनाकार दृगनारायण पाण्डे पुनः एमालेमै फर्किएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता भंग भएपछि पार्टी परित्याग गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित भएका उनी सोमवार पुनः एमालेमै फर्किएका हुन् ।
००००
बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएका भारतीय मुलका बेलायती राजनीतिज्ञ ऋषि सुनकको शपथ अक्टोबर २८ मा हुने भएको छ । सोमबार कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता चयन भएसँगै सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई चुनौती दिने पेनी मोरडन्टले आफ्नो नाम फिर्ता लिएसँगै उनको बाटो खुलेको हो । यसअघि पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पनि आफ्नो नाम फिर्ता लिएका थिए ।
००००
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यसैसाता ‘वल्र्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आईएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।