
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीवार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन बिहीवार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । बिहीवारको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
००००
चान्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४३ बुधबार विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।
राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामर्ना याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मौलिक वेषभूषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामर्ना याली निकालिएको थियो ।
००००
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको अवस्थाबारे जानकारी दिन नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता उल्लघंन गरेको बारेमा जानकारी दिन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।
आयोगले उम्मेदवार र दलले निर्वाचन आचारसंहिताविपरीतको कार्य गरेको पाइएमा जानकारी दिन प्रहरी र विभागलाई निर्देशन दिएको आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
००००
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश १ मा ६ सय १६, मधेशमा ८ सय ६३, बागमतीमा ७ सय ५४, गण्डकीमा ३ सय ४४, लुम्बिनीमा ५ सय ७९, कर्णालीका लागि २ सय र सुदूरपश्चिम प्रदेशका लागि ३ सय ५२ उम्मेदवार छन् ।
००००
आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई स्पष्टीकरण सोध्न सक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन गर्ने साना या ठूलालाई छाड्ने भन्ने हुँदैन । आचारसंहिता उल्लंघनको विषय सबैलाई समानरूपमा लागू हुन्छ । निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वशनीयतामा आँच र्पुयाउने खालका गतिविधिमा आयोगको ध्यानाकर्षण हुन्छ ।’
००००
पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ११७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १० लाख ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ लाख ८७ हजार ८६३ जना संक्रमण मुक्त भएका छन् । बुधबार ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६४१ छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका उनले सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् ।
००००
नेकपा एमालेका तीन नेता पार्टीबाट निष्कासित भएका छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई निष्कासित गरेको हो । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रदेश सचिव सचिव धर्मराज पाठकले जानकारी दिए ।
००००
रोल्पामा बुधवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
००००
महिलाको तस्वीर दुरुपयोग गरी सामाजिक सञ्जालमा अपलोड गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्वर ८ का २१ वर्षीय रविन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीले एक महिलाको तस्वीर सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गरेको भन्दै उनका पतिले प्रहरीमा उजुरी दिएका थिए ।
००००
नेपाली अमेरिकी पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केवल २ हप्ताभन्दा कम मात्र बाँकी रहेको छ । निर्वाचनमा नेपाली मूलका २ जना प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डा ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिस्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्बलीको लागि सहना श्रेष्ठ छन् ।