
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक व्यवसाय नभई सेवा भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं ४ ले आज कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उनले आफू सेवाभावका साथ राजनीतिमा लागेको स्पष्ट पारे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत संहालेका मन्त्री कार्कीले देश निर्माणका लागि दक्ष जनशक्ति, कानुनी शासन, सुशासन, योग्य प्रशासन, इञ्जीनियर आवश्यक भएको बताए ।
मङ्सिर ४ गते हुने निर्वाचनको माध्यमबाट दिगो लोकतन्त्र, संविधानको रक्षा गर्न, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्नका लागि यो निर्वाचन फलदायी हुने सरकारका उहाँले विश्वास व्यक्त गरे ।