
मोरङमा छठ पर्वको रौनक हेर्न खोलामा गएका बालकको छुरा प्रहारबाट मृत्यु भएको छ ।
उर्लाबारीस्थित मावा खोलामा छठ पर्वको रमाइलो हेर्न गएका १४ वर्षीय बालकको छुरा प्रहारबाट मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका – १० बस्ने १४ वर्षीय डियुज श्रेष्ठको छुरा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
छुरा प्रहारबाट घाइते श्रेष्ठ बेहोस भई लडेपछि उनलाई एक साथीले उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना गराएका थिए ।
घाइते बालकलाई अस्पतालमा ल्याएपछि मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए । थापाका अनुसार राति करीब १०: ३० बजे बालकमाथि छुरा प्रहार भएको थियो ।
श्रेष्ठको गोदावरी हस्पिटलमा उपचार हुन नसकेपछि झापाको विएन्डसी अस्पतालमा रिफर गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
‘भिडभाड भएकाले कसले छुरा हान्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ प्रहरी निरीक्षक थापाले भने,‘छुरा हान्नेको विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ ।’