
आजको समयमा तौल घटाउने सबैभन्दा राम्रो उपाय मानिने मध्य एक उपवास बस्ने पनि मानिन्छ ।
धेरै डाक्टरहरूले आफ्ना बिरामीहरूलाई यो आहार दिनचर्या पालना गर्न सल्लाह दिन्छन्।
यो धेरै मानिसहरूका लागि फाइदाजनक साबित भएको समेत छ । तर हालै गरिएको एक अध्ययनले उपबासले महिलाको हर्मोनमा नकारात्मक असर पार्न सक्ने देखाएको छ ।
अन्तरिम उपवास अर्थात् आईएफ डाइटिंगको यस्तो विधि हो, जसमा २४ घण्टालाई २ भागमा विभाजन गरिएको छ ।
यो उपवासले भोजनको समयलाई सीमित गर्दछ। जो कोहीले पनि आफ्नो सुविधा अनुसार पालना गर्न सक्छन्।
‘के खाने’ को सट्टा ‘कहिले’ खाने भन्नेमा केन्द्रित हुन्छ । सामान्यतया मानिसहरू दैनिक १२ देखि १६ घण्टा उपवास बस्छन् ।
मोटोपनको अध्ययन गर्दै अमेरिकाको इलिनोइस विश्वविद्यालयका वैज्ञानिकहरूले यस्तो अनुसन्धान गरेका हुन् ।
अध्ययनका क्रममा व्रत बस्ने महिलामा आएको परिवर्तनबारे जानकारी पाइएको थियो ।
अध्ययनमा रजोनिवृत्ति अघि र पछि महिलाहरूलाई समावेश गरिएको थियो। उनीहरु सबै मोटोपनको सिकार भएका थिए । उनीहरुलाई ८ हप्ताको अन्तरिम उपवास बस्न भनिएको थियो ।
नतिजाहरूले महिलाहरूमा अण्डाको गुणस्तर सुधार गर्ने डिहाइड्रोएपियान्ड्रोस्टेरोन (डीएचईए) को मात्रा घटेको पाइएको थियो।
यो गिरावट १४ प्रतिशतसम्म रेकर्ड गरिएको थियो। यसले महिलाको प्रजनन स्वास्थ्य बिग्रने सम्भावना रहेको अध्ययनले देखाएको छ ।