२१ जेठ २०८३, बिहीबार

देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ : प्रवक्ता महत

कात्तिक १६, २०७९
देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेकपा एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

उनले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको दाबी गरे ।

‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ,’ उनले भने, ‘काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।’

नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समितिअन्तर्गत गठित खेलकुद क्षेत्र समन्वय समितिले बुधवार बुटवलमा आयोजना गरेको कार्यक्रममा व्यवस्थाको रक्षा गर्ने कि व्यवस्थालाई अझै कमजोर बनाउने भन्नेबीचको अहिलेको निर्वाचन रहेको उनको भनाइ थियो । संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान र व्यवस्थाको रक्षा गर्दै युवालाई शिक्षा र रोजगारीको ग्यारेन्टी कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले शान्ति र भयरहित समाज निर्माणका लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

रुपन्देहीको २ नम्बर क्षेत्रमा कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा तथा १ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी र २ नम्बर प्रदेश सभामा माओवादी केन्द्रका नेता वामदेव क्षेत्री उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्