
हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५ दिनमा साढे ४ करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ ।
निर्माण टीमले दिएको जानकारीअनुसार फिल्मले मंगलवारसम्म ४ करोड ५० लाख रुपैयाँ हाराहारी कलेक्सन गरेको हो ।
गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । बुधवार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक छ । फिल्मले दर्शकहरूबाट पनि एकदमै राम्रो प्रतिक्रिया पाएको छ ।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेल लगायतको अभिनय छ । पत्नी गुमाएपछि एक्लिएका एकल पुरुषको कथा फिल्मले पेश गर्छ । षट्कोण आर्टस्को ब्यानरमा म्याक्स दीपेश खत्रीको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।
निर्माण टीम बुधवारदेखि दर्शक प्रतिक्रिया लिन मोसफल यात्रामा निस्किएको छ ।