०७ साउन २०८३, बिहीबार

चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौं : उपराष्ट्रपति पुन

कात्तिक २४, २०७९
चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौं : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गरेका छन् ।

बिहीवार आयोजित नेपाल–चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले २ देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताए ।

पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताए । सोही आधारमा पछिल्ला केही वर्षयता २ देशबीच महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको उनको भनाइ छ । 

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले प्रत्येक नेपालीको आर्थिक सामाजिक रूपान्तरण सहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने बताए ।

‘जबसम्म हामी हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौं, तबसम्म समृद्धि टाढै रहनेछ,’ उनले भने, ‘गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट हामीले हाम्रो निर्यात व्यापार वृद्धि गर्नसक्नु पर्दछ ।’

यसै महिनादेखि लागू हुने गरी नेपालसहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुको भन्सार शुल्क शून्य बनाउने चीनको नीति हाम्रा लागि राम्रो अवसर रहेको जनाउँदै उनले चीनको यस नीतिको नेपालले सदुपयोग गर्नुपर्ने बताए । ‘नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग छ, संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उदेश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रा लागि ठूलो अवसर पनि हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्