०७ असार २०८३, आइतबार

सिञ्जामा नमूना मतदान

कात्तिक २५, २०७९
सिञ्जामा नमूना मतदान
प्रतिकात्मक तस्वीर

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका २ स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको छ । 

जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए ।

सिंजामा ३७ जनाले नमूना मतदान गरेकामा ८ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईंले बताए । मतदानमा ८५ जना सहभागी भएका थिए  । 

नमूना मतदानमा जम्मा २० मत बदर भएका छन् । दुवै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, २ कोठामा छाप लगाएको र २ चिह्नमा छाप लगाएको देखिएको बताइएको छ ।

नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको कार्यालयका प्रमुख शर्माले जानकारी दिए ।

जिल्लाभर कूल १०६ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र २ अस्थायी मतदानस्थल कायम गरिएको छ ।

जिल्लामा कूल ६८ हजार ६३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (१) मा ३६ हजार ७८३ र प्रदेशसभा (२) मा ३१ हजार ८५५ मतदाता रहेका कार्यालयले जनाएको छ । जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । 

कमेन्ट गर्नुहोस्