२२ असार २०८३, सोमबार

चुनावबीच किसानलाई धान थन्क्याउने चिन्ता, ‘उनीहरू जितेर जान्छन्, हाम्रो दुःख हामीसँगै’

कात्तिक २६, २०७९
चुनावबीच किसानलाई धान थन्क्याउने चिन्ता, ‘उनीहरू जितेर जान्छन्, हाम्रो दुःख हामीसँगै’
फाइल फोटो

चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइँनभ्याइँ छ । मंसिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ ।

किसानलाई चुनावी सरगर्मीभन्दा खेतीपातीको चटारो छ । बरु उनीहरू पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । 

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरूलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यस पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ । इलामको सूर्योदयका जगन्नाथ सापकोटा भन्छन्, ‘वर्षभरको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला कि भन्ने मात्र पीर छ ।’

पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उनले भने, ‘यो साल त बेलैमा धान भित्र्याउन पाए हुन्थ्यो ।’ 

सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ । ‘चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जसले जितून्, काम कसैले गर्ने होइन क्यारे ।’ उनले विक्रम संवत् २०४८ सालबाट निरन्तर मतदान गर्दै आएका छन् । उनले भने, ‘म जस्ता हजारौं किसानको दुःख जस्ताको त्यस्तै छ । उनीहरू भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै ।’

माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैं जस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्छन्, ‘उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन । कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्