
बहराइनमा शनिवार सम्पन्न मतदानमा विपक्षी दलका २ दललाई सहभागी हुन रोक लगाएपछि निर्वाचनले कुनै अर्थपूर्ण परिवर्तन नल्याउने मानव अधिकारवादी समूहहरूले बताएका छन् ।
सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना २ प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार खडा गर्नबाट रोकेको छ ।
उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ निर्वाचनलाई बहुपक्षीय सहभागितालाई दुरूत्साहन गरेको प्रस्ट देखिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।
सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसदको तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषद्मा ७३ महिलासहित ३३० भन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिस्पर्धीको यो संख्या सन् २०१८ को निर्वाचनको तुलनामा बढी हो । सन् २०१८ मा ४१ महिलासहित २९३ जनाले संसद्का लागि उम्मेदवारी दिएका थिए ।
स्थानीय समयअनुसार बिहान ८ः०० बजे मतदान केन्द्र खुल्नुअघि राज्यका ५५ मतदान केन्द्रमध्ये केही बाहिर लाइन लागेको थियो ।
मनामाको एक मतदान केन्द्रकी प्रमुख अमिना इसाले भनिन्, ‘पहिलो घण्टादेखि नै मतदान तीव्र थियो र यो संख्या निरन्तर बढिरहेको छ ।’