
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।
सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।
उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ ।
यसैगरी अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिने आयोगले जनाएको छ । यस्तै आयोगले अत्यावश्यक सेवाका सवारीले पास लिनुनपर्ने भनेको छ ।
००००
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले सत्तारुढ गठबन्धनमा आबद्ध उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा महासचिव भुसालले सिङ्गो राजनीतिक प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्ध आफूहरूले विद्रोह गरी प्राप्त उपलब्धिको रक्षाका लागि भूमिका निर्वाह गरेको बताउँदै कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि समान विचार बोक्ने दलसँग सहकार्य तथा एकताको क्रम चलिरहेको बताए । उनले तत्कालीन समयमा प्राप्त उपलब्धि रक्षाका लागि पार्टीभन्दा देश, जनता र जनताले ल्याएको परिवर्तन ठूलो भएको आफूहरुको विश्लेषणपछि विद्रोह गरेको बताए ।
००००
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताएका छन् ।
स्वतन्त्रबाट तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभासदस्य पदका उम्मेदवार रहेका गोविन्दराज जोशीप्रति लक्षित गर्दै नेता पौडेलले भ्रष्टाचारमा दाग लागेका व्यक्तिले चुनाव जिते पनि संसद् छिर्न नपाउने हुँदा समयमै ख्याल गर्नसमेत आग्रह गरे ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको ३ नम्बर निर्वाचन क्षेत्रमा राजतन्त्र र गणतन्त्र बीचको लडाइँ नभएको बताएका छन् ।
भद्रपुरमा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।’
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा शनिबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धन चितवनले शनिवार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे ।
सोही कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए ।
००००
बझाङ केन्द्रबिन्दु भएर शनिबार राति ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा महसुस भएको थियो ।
यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट ६ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनाहरुमा क्षति पुगेको थियो । पछिल्लो समय सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुश भएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन् ।
आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए ।
००००
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
००००
शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।
सरकारको सहजीकरण एवं नयाँ कानूनी प्रावधानका कारण साधारण शेयर बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने शेयरको परिमाण मात्रै रु १५ अर्ब नौ करोड सात लाख १८ हजार बराबरको छ ।