
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको क्षेत्र नम्बर ४(२) का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवारसमक्ष माग राखेका छन् ।
निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् ।
‘जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?’ स्थानीय कमला राजवंशीले प्रश्न गरिन् । कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्छन्, मत माग्छन् तर गाउँका समस्या नसुन्ने गरेको गुनासो गरे ।
उनले भने, ‘गाउँमा पानीको समस्या छ, बिजुली छैन, बाटो अवस्था दयनीय छ, १० कक्षासम्म अध्ययन हुने विद्यालयको स्तर झरेर अहिले ८ कक्षासम्मको मात्र पढाइ हुन्छ ।’
‘२ किमी पश्चिममा विराटनगर महानगरपालिका छ, यहाँ विकास भयो तर हाम्रो गाउँमा किन विकास भएन,’ उनले भने, ‘हाम्रो समुदायका मानिस जनप्रतिनिधि हुन सक्दैन, बाहिरका हुन्छन् त्यसैले हाम्रो गाउँ आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछि परेको छ ।’
सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार सिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, नेपाली कांग्रेसका भीम पराजुली, नेकपा एमालेका जीवन घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नासिन खातुन, जनमत पार्टीका अनिलकुमार झा, मङ्गोल नेसनल अर्गनाइसन पार्टीका शुभराज राई, पूर्व गृहराज्यमन्त्री भीमबहादुर राजवंशी एवं स्वतन्त्र २ गरी ९ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।
१ नम्बर प्रदेशका पूर्व सामाजिक विकासमन्त्री घिमिरेले विगत कोभिड महामारीका मतदातालाई पुर्याएको सेवा, कोशी कोभिड अस्पताल निर्माण, एक विद्यालय एक नर्सिङ सेवा, सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको पहुँच विवरण जनतासमक्ष पेश गरिरहेका छन् ।
यसैगरी विराटनगर महानगरपालिकाका निवर्तमान प्रमुख पराजुलीले विराटनगरको कालोपत्र सडक, ढल सुधार, विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको पार्क, आरोहरण गुरुकूलको सुविधा सम्पन्न नाटक घर, महेन्द्र चोकमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रमणीय सडक, विमानस्थल जाने सडकको सौदन्र्यीकरण, कोभिड महामारीमा निःशुल्क एम्बुलेन्स, शववाहन र अक्सिजन सेवा, नगरका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन लगायतका कार्य रहेको जनतासमक्ष पुर्याइरहेका छन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, ३, ८ र १०, कटहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ रहेको यस क्षेत्रमा सबै समुदायको मिश्रित बसोबास छ । यस क्षेत्रमा महिला २५ हजार ३२४, पुरुष २५ हजार ३७९ गरी ५२ हजार ७०३ मतदाता रहेका छन् भने ४० मतदानस्थलमा १२२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
विक्रम संवत् २०७४ सालको प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका घिमिरेले १३ हजार ८०५ मत ल्याई विजयी भएका थिए भने भने उनको प्रतिद्वन्द्वीमा कांग्रेसका विश्वनाथ रिजालले ११ हजार ६२५ र संघीय समाजवादी फोरम नेपालका श्रीराम कामतले ३ हजार ६२१ मत प्राप्त गरेका थिए ।
गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिको वडा नम्बर १, २, ३, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएको थियो ।
उनीहरूले ८ हजार ५२९ मत प्राप्त गरेका थिए भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८४४ मत प्राप्त गरेका थिए ।
यसैगरी कटहरी गाउँपालिकामा एमालेका विजयी २ वडाध्यक्षसहित ३ जनाले २ हजार ५५४ मत प्राप्त गरेका थिए भने कांग्रेसले १ वडाध्यक्ष विजयीसहित ३ जनाले २ हजार ६२४ मत प्राप्त गर्न सफल भएका थिए ।
मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, युवालाई प्राविधिक शिक्षामा सहज पहुँच र उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नुपर्ने माग छ । विराटनगर–४ का ७८ वर्षीय मतदाता केशव अधिकारी निर्वाचनमा विजयी भएपछि फर्केर नआउने, भेट हुन समस्या हुने गुनासो गरेका छन् ।
कटहरी गाउँपालिका– २ का गृहणी मतदाता विमला राजवंशीले अहिले सूचना प्रविधिको समयमा बालबालिकालाई रोजगारीमूलक एवं प्राविधिक शिक्षाको सस्तो एवं सर्वसुलभ उपलब्ध गराउने उम्मेदवारलाई मत दिने बताइन् । पूर्व राज्यमन्त्री एवं स्वतन्त्र उम्मेदवार राजवंशी यस क्षेत्रका लागि संघीयता स्थापनामा भूमिका, नागरिकको शान्ति सुरक्षा, विकास एवं भाषा, संस्कृति संरक्षणको गरेको योगदानको आधारमा विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे ।
यस पटकको उम्मेदवार निर्वाचनको प्रचारप्रसारको क्रममा सचेत देखिएका छन् । निर्वाचन आचारसंहिता, कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थित रूपमा लैजाने गरेका छन् ।