
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी नियमित पछिल्ला २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आइतबार हुने आम निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि निर्वाचन नसकिँदासम्म ४८ घण्टा कायम रहने निर्वाचन आयोगले जनाएको छ । मौनअवधि सुरु हुनुअघिसम्म बिहीबार दलहरुले अन्तिम प्रचारप्रसार सकेका थिए ।
००००
यसैगरी आयोगले निर्वाचनको सम्पूर्ण व्यवथापकीय तयारी पूरा भएको बिहीबारको पत्रकार सम्मेलनमार्फत जनाएको छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ ।
निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्दै छन् । नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको छ ।
पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । आयोगल हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँडन वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी गर्नेछन् ।
००००
यसैबीच आयोगले मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने–गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवन गर्नेरगराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको आयोगको भनाइ छ ।
००००
यसैगरी मौनअवधिमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।
यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ ।
००००
केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबारको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो ।
००००
प्रेस काउन्सिल नेपालले स्थिर समयमा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।
काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय गएराति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो ।
००००
नवलपरासी पश्चिममा मदिरा सेवन गरेका मतदान अधिकृत निलम्बनमा परेका छन् । यही मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो । उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
००००
जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएको प्रमुख जिल्ला अधिकरी मुकेशकुमार केशरीले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अंकले उकालो लागेर १ हजार ९३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो ।
००००
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ० दशमलव ४ र कर्जा १ दशमलव ३ प्रतिशतले मात्रै बढेको देखिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १ दशमलव २ र कर्जा ७ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोजमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८ दशमलव २ प्रतिशतले र कर्जा ६ दशमलव ४ प्रतिशतले बढेको छ ।