११ साउन २०८३, सोमबार
गृहमन्त्री पराजित

रूपन्देहीमा ढलेको देउवाको एउटा पिल्लर !

मंसिर १०, २०७९
रूपन्देहीमा ढलेको देउवाको एउटा पिल्लर !

चुनावमा शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्री बालकृष्ण खाण पराजित भए– राप्रपाका दीपक बोहरासँग । बहालवाला गृहमन्त्रीलाई पराजित गरेको भन्दै राप्रपामा बोहरा हाई-हाई भइरहेका छन् । शनिबार दिउँसो सम्पन्न मतगणनामा २ हजार ६ सय मतान्तरसहित बोहोरा विजयी भए । 

राजतन्त्रको छत्रछाँयामा हुर्केको पूर्वपञ्चहरूको पार्टी राप्रपाको औचित्य गणतन्त्रको स्थापनासँगै समाप्त भएको ठानिएको थियो । तर, राजेन्द्र लिङदेनको नेतृत्वमा कमब्याक गरेर राप्रपाले राम्रो शक्ति आर्जन गरेको छ । 

कतै एमालेसँगको तालमेल र कतै एक्लै चुनावी प्रतिस्पर्धा गरेका राप्रपाका नेताहरूले कांग्रेसका प्रभावशाली नेतालाई पराजित गरेका छन् । सत्ताका माहिर खेलाडी मानिने बोहोराले गृहमन्त्रीलाई चुनावमा पराजित गरे ।

राप्रपा नेताहरूको संयोग, कतै गृहमन्त्री र कतै पूर्वगृहमन्त्रीलाई पराजित गरे । अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री कृष्ण सिटौला र ध्रुबबहादुर प्रधानले पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरे । मकवानपुरमा त पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपाकै पूर्वअध्यक्ष कमल थापालाई एक मामुली कार्यकर्ता दीपक सिंहले पराजित गरे । 

भाषणै नगरी सांसद !

राप्रपा उपाध्यक्षसमेत रहेका बोहोरा पञ्चायतकालदेखिका मन्त्री हुन् । गणतन्त्र स्थापनापछि पनि उनी पटक–पटक मन्त्री बने । माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा बोहोरा वनमन्त्री थिए । त्यो बेलाको संविधानमा गैर सांसद पनि मन्त्री बन्न पाउने व्यबस्था थियो । 

२०७० सालको संविधान सभामा रूपन्देहीबाट चुनाव जितेर आएपछि उनी २०७३ सालमा फेरि मन्त्री बने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवार घनश्याम भुसालसँग चुनाव हारेका बोहराले यसपटक गृहमन्त्रीलाई हराएर रोमाञ्चक जीत निकालेका छन् । 

‘पोष्ट कोभिड’ इफेक्टका कारण घाँटीमा समस्या देखिएपछि चुनावी सभामा बोहराले भाषण गरेनन् । बिरामी रहेको भन्ने सन्देशका कारण पनि मतदाताले उनलाई सहानुभूतिको भोट हाले । 

बोहोरा मञ्चमा कालो चस्मा लगाएर बसिरहँदा राप्रपा नेता निरञ्जन थापाले उनको तर्फबाट भाषण गर्ने गरेका थिए । 

किन हारे खाण ? 

नेपाली कांग्रेसमा अहिलेको संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले ‘ग्रुम’ गरिरहेका खाणले अनपेक्षित नतिजा हाँसिल गरेका छन् । २०७४ सालको चुनावमा दीपक बोहोरालाई सीट छाड्नुपर्ने बहानामा देउवाले नै खाणलाई समानुपातिकको सूचीमा राखेर सांसद बनाएका थिए । शुरूमा संसदीय दलको मुख्य सचेकतकको भूमिका दिएका देउवाले आफू प्रधानमन्त्री बनेपछि दोस्रो बरियतासहित गृहमन्त्री बनाए । 

देउवाले विदेश गएको समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पनि खाणलाई नै तोके । १४औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी रहेका खाणलाई देउवाले रोके । देउवाको आग्रहलाई सहज स्वीकार गरेर खाण केन्द्रीय सदस्य लड्न राजी भए । प्रकाशशरण महतलाई महामन्त्रीको टिकट दिँदा खाणले धेरै असन्तुष्टि जनाएनन् । 

पूर्णबहादुर खड्कासँगै देउवाले खाणलाई आफूपछिको नेतृत्वको लागि तयार रहन भनेको कांग्रेस वृत्तमा चर्चा छ । सोहीअनुसार खाणले भद्रता देखाइरहेका थिए । गृहमन्त्रीकोरूपमा खाण खासै विवादमा आएनन् । तर, कांग्रेसका अधिकांश नेताहरू चुनाव जितिरहँदा खाण संसदबाहिर भएका छन् । 

उनको हारपछि सामाजिक सञ्जालमा गृहमन्त्री नै हारेकाले निर्वाचनको निष्पक्षतामाथि प्रश्न गर्न नपर्ने टिप्पणी भइरहेको छ । उनको हारप्रति अधिकांशले आश्चार्य प्रकट गरिरहेका छन् । 

तिलोत्तमा नगरपालिकाको मेयरमा भाइ रामकृष्ण खाणलाई उठाएर बालकृष्णले जीतको आधार र पृष्ठभूमि तयार गर्न खोजेका थिए । तिलोत्तमामा आफ्नो भाइलाई उम्मेदवार बनाएकोमा कांग्रेसभित्र असन्तुष्टि थियो । त्यसैमाथि, पत्नीलाई समानुपातिकको बन्दसूचीमा राखेपछि खाणको आलोचना भयो । ‘कार्यकर्तालाई चिढ्याएर भाइ र श्रीमतीलाई व्यवस्थापन गर्न लागेको भनेर कार्यकर्तामा व्यापक असन्तुष्टि थियो’ नेपाली कांग्रेस रूपन्देहीका एक नेताले लोकान्तरसँग भने, ‘अन्तिम समयमा बहुविबाहको उजुरी पर्नु पनि उहाँका लागि दुर्भाग्य भयो ।’

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा बालकृष्ण खाणकी पत्नी मञ्जुको नाम अगाडि छ । बालकृष्ण चुनाव हार्दा उनकी पत्नी संसदमा आउने सम्भावना भने पक्का–पक्की छ । 

खाण नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको अध्यक्ष भएर काम गरिसकेका नेता हुन् । संसदमा पराजयसँगै देउवाको एउटा पिल्लर ढलेको विश्लेषण कांग्रेसवृत्तमा शुरु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्