२३ असार २०८३, मंगलबार

कालीकोटमा ३१ वर्षपछि कांग्रेसको जीत

मंसिर ११, २०७९
कालीकोटमा ३१ वर्षपछि कांग्रेसको जीत

पछिल्लो ३१ वर्षमा मुलुकमा ७ वटा निर्वाचन भए । यसअघिका ६ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । 

विक्रम संवत् २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि कांग्रेसले जीत हासिल गर्न सकेको थिएन तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिष्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल भएका छन् ।

तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले ८ हजार ८ मत ल्याउँदा विष्टले ७ हजार ७१७ मत ल्याएका थिए ।

मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्रबहादुर बोगटीले ५ हजार ८३८ मत प्राप्त गरे ।

विक्रम संवत् २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गरेका थिए भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरेका थिए ।

विक्रम संवत् २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजंग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजंग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा १ सिट सुरक्षित गर्न सफल भएको छ । 

‘प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ,’ कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, ‘३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुशी बनाएको छ ।’ वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्