
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने बताएका छन् । आइतवार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका हुन् ।
उपमहासचिव रिमालले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउन आन्दोलन गर्ने बताए । उनले निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँच वटा सिटले मात्रै कांग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने बताए । उनले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताए ।
‘चुनाव सकिँदैछ । हाम्रो पार्टी नम्बर एक पार्टी बन्ने वा नबन्ने दोसाँधमा छ । चार, पाँचवटा सिट हार, जितले हामी दोस्रो बन्ने कि पहिलो बन्ने भन्ने तय हुँदैछ । पपुलर भोटमा त हामी नम्बर एक हुन्छौँ । यसमा कुनै शंका छैन । अहिले पनि हामीलाई २२, २३ लाख भन्दा बढी पपुलर भोट प्राप्त भइसकेको छ । केही लाख बढ्नेवाला छन् । सायद ३०, ३२ लाख पुग्लाजस्तो लाग्छ मलाई । हिसाब त्यही होला । हामी सेकेण्ड हौला वा जे भए पनि यदी हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने हामीले श्रमिकहरूको अगाडि गरेको कबुल २५ हजार न्युनतम ज्याला पुर्याउने अभियानले मूर्तता निश्चितरुपमा पाउँछ । यदी सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्नको लागि श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईहरूको साथमा रहन्छ’, रिमालले भने ।
उपमहासचिव रिमालले आफूहरू सरकारमा रहेमा औपचारिक क्षेत्रका शतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने बताए । पाँच वर्षभित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ । सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रुपमा लागू हुनेपर्ने उनले बताए ।
उनले सामाजिक सुरक्षा केवल श्रमिकहरूका लागि मात्रै नभई व्यवसायी र सरकारको लागि पनि भएको स्पष्ट पारे । व्यवसायीहरू सामाजिक सुरक्षामा जोडिनु श्रम बजारलाई सुन्दर बनाउनु भएको उनको भनाइ थियो ।