२५ जेठ २०८३, सोमबार

सामाजिक सुरक्षा कोषमा अतिरिक्त सुविधा थप

मंसिर ११, २०७९
सामाजिक सुरक्षा कोषमा अतिरिक्त सुविधा थप

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् । आइतवार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यकारी निर्देशन ज्ञवालीले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताए । उनले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा श्रीमानले याेगदान गर्दा श्रीमतीले पनि श्रीमान सरह उपचार खर्च पाउने व्यवस्था गरेको बताए । उनले सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको बताए । 

ज्ञवालीले कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको बताए । उनले कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारी रहेको बताए । उनले मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने जानकारी दिए । उनले कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइएको बताए । 

कार्यकारी निर्देशक ज्ञवालीले कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको दुर्घटना खर्च, अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेको बताए । उनले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज बनाउँदै विश्वसनीय बनाउन आवश्यक रहेको बताए । 

पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ । प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरू सामाजिक सुरक्षा कोषमा जोडिन थालेको कोषले बताएको छ । पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबीलगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्