०२ साउन २०८३, शनिबार

तराई–मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

मंसिर १२, २०७९
तराई–मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई–मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो । 

भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर रुपमा चार सय केभी क्षमताको चार सर्किट प्रसारण लाइन र सवस्टेसन निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट चार सय केभी र तल्लो दुई सर्किट एक सय ३२ केभी क्षमताका प्रसारण लाइन सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ठाउँ–ठाउँमा सवस्टेसनको निर्माण गरिने छ । 

अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सवस्टेसन रहने स्थान तय गर्ने काम भइरहेको छ । बारा बर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट सहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने छ ।

प्रसारण लाइन तथा सवस्टेसन निर्माणका लागि रु ५० अर्ब भन्दा बढी लाग्ने छ । यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिवार र आइतवार प्रस्तावित लाइन निर्माणस्थलको स्थलगत अनुगमन भ्रमण गरी चार सय र एक सय ३२ केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको बताए । केही प्रसारण लाइन तथा सवस्टेसन निर्माण भइरहेका छन् । केही तत्काल शुरु हुँदैछन् भने अन्य दीर्घकालीन रुपमा निर्माण गर्ने गरी सवस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया शुरु गर्नेलगायतका काम भइरहेका छन् ।

घिसिङले भारततको मोतिहारी, सीतामणि, जयनगर विन्दुतर्फ पनि विद्युत् निर्यात गर्न सकिने बताए । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा चार सय केभीको सवस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही चार सय केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ । बाराका प्रसौनीमा एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ ।

जनकपुर क्षेत्रको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका एक सय ३२ केभी क्षमताका सवस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा एक सय ३२ केभी सवस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा एक सय ३२ केभी क्षमताका प्रसारण लाइन पनि निर्माणाधीन छ । 

salt training

कमेन्ट गर्नुहोस्