
विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् ।
कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन् ।
जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । ‘अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन,’ उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।
पर्यटकीय शहर पोखराको लेकसाइडका वासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौंसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नशा चढेको हो । त्यो बेला पोखराबाट ४ दिनमा काठमाडौं पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए ।
बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन् ।
बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन् । उनले एकैदिन साइकलबाट ३०० किलोमिटर यात्रा तय गरेका छन् ।
साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकल यात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।