२० असार २०८३, शनिबार

बैतडीमा लुगा सिलाउन हिँडेकी २१ वर्षीया युवतीको घाँटी रेटेर हत्या

मंसिर १४, २०७९
बैतडीमा लुगा सिलाउन हिँडेकी २१ वर्षीया युवतीको घाँटी रेटेर हत्या

बैतडीमा एक युवतीको घाँटी रेटी हत्या भएको छ । शिवनाथ गाउँपालिका-८ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले लोकान्तरलाई जानकारी दिए ।
शिवनाथ गाउँपालिका-६ मा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जोशीको भनाइ छ । सोही घटनामा अर्की एक जना १५ वर्षीय किशोरी पनि घाइते भएकी छन् ।

मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन भनेर गएका दुवै जना घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई खोज्दै जाँदा एक जनाको शव र अर्की किशोरी घाइते अवस्थामा फेला परेको जोशीले बताए ।

शिवनाथ गाउँपालका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको थियो । यसैगरी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा १५ वर्षीया किशोरी  घाइते अवस्थामा फेला परेकी थिइन् । 

मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घाइते किशोरीको पनि घाँटीमा चोट भएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । घटनामा संलग्नको हालसम्म पहिचान नभएको र यसबारे अनुसन्धान भइरहेको प्रवक्ता जोशीले लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्