११ साउन २०८३, सोमबार
निगमको विजोग

निगमलाई घाँडो बने ६ विमान– बैना दिएकाले पनि नलगेपछि कबाडीमा बेच्नुपर्ने अवस्था !

मंसिर १८, २०७९
निगमलाई घाँडो बने ६ विमान– बैना दिएकाले पनि नलगेपछि कबाडीमा बेच्नुपर्ने अवस्था !

साढे ३ वर्षदेखि बिक्रीमा राखिएको नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाज अहिलेसम्म बिकेको छैन । निगमले उडान नगर्ने निर्णय गरेर ग्राउन्डेड गरी बिक्रीका लागि राखेको ९ एन एसीबी कलसाइनको गण्डकी नामक उक्त जहाज किन्न अमेरिकी कम्पनीले चासो देखाएको भनिए पनि अहिलेसम्म बिक्री हुन नसकेको हो ।

वायुसेवा निगमले एयरबस जहाज भित्र्याएपछि एउटै प्रकारको जहाज उडाउने भनेर बोइङ नउडाउने निर्णय गर्‍यो । सोही अनुसार दुईवटा बोइङमध्ये ७५७ कल साइन जहाज पटक–पटकको प्रयासमा पनि बिक्री हुन सकेको छैन ।

निगमसँग रहेको २ वटा बोइङमध्ये ९ एनएसीए नामक जहाज नेपालबाटै अन्तर्राष्ट्रिय उडान गर्न भनेर स्थापना भएको बीबी एयरवेजले खरिद गरेको थियो । उक्त कम्पनीले जहाज उडाउन नसकेपछि ४ वर्ष अगाडि निगमसँग किनेको उक्त जहाज अहिले काटेर लैजान थालेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पटक–पटक जहाज हटाउन दिएको निर्देशनपछि बीबी एयरवेजले यसपटक भने जहाजलाई काटेर टुक्रा परिसकेको छ । उक्त जहाजलाई कहाँ लैजान लागिएको भन्ने विषयमा आफूहरूले कुनै चासो नदिएको ठाकुरले बताए ।

निगमको अर्को जहाज पनि विमानस्थलको रिमोट पार्किङमा बसिरहेको छ । उक्त जहाज हटाइदिन र विमानस्थल खाली गर्न पटक–पटक आग्रह गरिएको छ । जहाज बिक्री गरेर हटाउने भन्ने जानकारी सम्बन्धित कम्पनीबाट आइरहेको छ । तर, हालसम्म बिक्री भएको जानकारी नआएको ठाकुरले बताए । उक्त जहाजको स्वामित्व परिवर्तन नभएसम्म विमानस्थल कार्यालयले पार्किङको पैसा भने निगमबाटै असुल गर्नुपर्छ । यो जहाज लामो समयदेखि थन्किइरहेको भए पनि निगमले तोकिएको शुल्क तथा पार्किङ चार्ज भने तिरिरहनुपर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

वायुसेवा निगमका अनुसार यो जहाज कोरोनाअगाडि नै अमेरिकी कम्पनी सीएसजीएसलाई बिक्री गर्ने सम्झौता भएको हो । उक्त कम्पनीले बोइङ किन्न सहमति गरेर खरिद रकमको ५ प्रतिशत रकम पनि जम्मा गरिसकेको छ ।

अहिलेसम्म जहाज भने नलगेकाले अब सम्झौता रद्द गर्ने, बैना रकम जफत गर्ने र नयाँ प्रक्रिया अनुसार जहाज बिक्री गर्न सकिने विषयमा छलफल भइरहेको छ । निगमकी प्रवक्ता अर्चना खड्काले सम्झौताअनुसार अमेरिकी कम्पनीले नै जहाज लैजाओस् भन्ने आफूहरूको चाहना रहेको बताइन् । उसले नलगेको अवस्थामा अर्को प्रक्रियाबाट पुनः बिक्री गर्न पनि निगम तयार रहेको उनको भनाइ छ ।

हङकङमा भेटिएको इन्जिनसमेत बिकेन

निगमले बिक्रीमा राखेको अर्को एउटा इञ्जिन पनि बिक्री हुन सकेको छैन ।

निगमका कर्मचारीले आइबेरियामा लुकाएको इञ्जिन निगमका पूर्व व्यवस्थापकले खोजी गरेर फेला पारेका थिए । यो इञ्जिन बिक्री गर्न निगमले दुईपटक सार्वजनिक सूचना जारी गरिसकेको छ ।

पछिल्लोपटक २८ नोभेम्बरमा १५ दिनको समय दिएर बिक्रीका लागि राखिएको बोइङको इन्जिन बिक्री हुन नसकेको हो । निगले पहिलोपटक बिक्री नभएपनि दोस्रोपटक आपसी छलफलबाट खरिद बिक्री गर्ने गरी सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनापछि पनि बिक्री नभएपछि निगमलाई तनाव थपिएको छ ।

निगमले जम्मा १६ लाख ३३ हजार डलर न्यूनतम शुल्कमा प्रस्ताव पेश गर्न आग्रह गरेको यो जहाजको इञ्जिनका दुई प्रकारका पाटपूर्जा बिक्रीमा राखेको थियो । जहाजको एउटा इञ्जिनको न्युनतम कबोल रकम १५ लाख ७२ हजार डलर र अर्को इञ्जिनको केही पार्टको ६१ हजार ५०० डलर तथा इञ्जिन राखिएबापटको चार्ज २ लाख ५० हजार तोकिएको थियो ।

निगमलाई घाँडो बनेको ५ वटा चिनियाँ विमान समेत बिकेन

निगमको उडान सञ्चालन खर्च नधान्ने, चिनियाँ कम्पनीले समयमा मर्मत नगरिदिने र लोड पेनाल्टीका कारण उडानमै समस्या हुने गरेको चिनियाँ जहाज पनि कोरोनापछि उडेको छैन । निगमले २०७७ साउनदेखि नउडाउने निर्णय गरेको ५ चिनियाँ जहाज त्रिभुवन विमानस्थलमा अझै अलपत्र छन् । कोरोना महामारीको समयमा एउटा वाई १२ नामक जहाज दुर्घटनापछि कामै नलाग्ने भएको निगमले बताएको छ । २ एमए ६० सहितको ५ वटा चिनियाँ जहाज उडानयोग्य भए पनि निगमले खर्च गर्न र उडान व्यवस्थापन मिलाउनै नसकेर थन्किएको थियो । 

पाँचवटै जहाजलाई नउडाउने निर्णयपछि सरकारले भाडामा लगाउन वा बिक्री गर्न अनुमति दिएको थियो । निगमले पनि उक्त जहाजलाई भाडामा लगाउने प्रयास गरेको थियो । दुईपटक सूचना जारी गर्दा पनि भाडामा नगएपछि अब बिक्री नै गर्ने अवस्थामा निगम पुगेका छ । 

यी जहाज मासिक न्युनमत ३८ लाख रुपैयाँमा भाडामा लगाउन खोज्दा पनि कसैले चासो देखाएनन् । निगमले एउटा एमए ६० को मासिक ७८ हजार ९७ डलर, अर्को एमए ६० कै मासिक ६९ हजार ८९० डलरमा भाडामा लगाउने गरी प्रस्ताव मागेको थियो । 

निगमले वाई १२ नामक जहाजका लागि भने मासिक २९ हजार ४१६.४९ डलरकै भाडामा लगाउने प्रस्ताव गरेको थियो । यो रकम मासिक जम्मा ३८ लाख मात्रै हुन आउँछ । अरू २ वाई १२ लाई भने ३२ हजार ८८६ र ३३ हजार ७८५ डलरमा भाडामा लगाउन खोजेको थियो । 

दुईपटकको प्रयासमा पनि भाडामा नगएपछि अब अन्तर्राष्ट्रिय मूल्यांकनकर्तामार्फत पुनः मूल्यांकन गरिने निगमले बताएको छ । निगमका प्रवक्ता खड्काका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर नयाँ मूल्यांकन हुने भएको छ । त्यसपछि जहाजलाई बिक्री नै गर्ने गरी सार्वजनिक प्रस्ताव माग गरिने छ । बिक्री गर्ने प्रस्तावमा पनि कसैले रुचि नदेखाएको अवस्थामा भने विकल्प खाेज्नुपर्ने खड्काले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्