
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरूको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन् । आइतवार नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरूको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताएका हुन् ।
विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताउँदै थपलियाले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । उनले सामुदायिक रेडियोहरू मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उल्लेख गरे । उनले गाउँ–गाउँमा रेडियो पुगेको भए पनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।
‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । हामीले त्यतिखेर यो संविधान जारी हुनासाथ आम सञ्चार नीति बनायौँ । त्यो आम सञ्चार नीतिभित्र अब कहीँ आम सञ्चारमाध्यमलाई मर्जरमा जानुपर्छ कि भनेर केही संकेत ग¥यौँ । म तपाईंहरूलाई मर्जरतिरै जानुस् त भन्दिनँ । त्यसो भनेन भने तपाईंहरू टिक्नुहुन्छ कि टिक्नु हुँदैन भन्ने डर छ । यो दुई वटाको विषयमा उपयुक्त तालमेल र व्यवस्थापन गर्ने प्रक्रिया खोज्नुपर्छ भन्ने मलाई लाग्छ’, थपलियाले भने, ‘अध्ययनले के देखायो भने रेडियोहरू स्थानगत रुपमा साह्रै विकेन्द्रित पाइए । तर कन्टेन्टका हिसाबले यत्तिको केन्द्रिकरण कहीँ कतै भेटिँदैन । हामीले बोल्ने ठाउँ चाहिँ गाउँमा पु¥याएछौँ । सुन्नेकुरा चाहिँ जहाँ सुने पनि एउटै छ । उहीँ काठमाडौंको कुरा मात्रै सुन्नुपर्छ भन्ने अवस्था सिर्जना भइरहेछ यसलाई चिर्न जरुरी छ भन्ने मलाई लाग्छ ।’
थपलियाले रेडियोहरू झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरू कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । उनले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरूलाई निर्दिष्ट गर्न सुझावसमेत दिए ।
‘हामीले अध्ययन गर्दा तपाईंहरू सबैले आम सञ्चारमाध्यम विशेष गरेर रेडियोहरू तीन वटा शब्दहरू तपाईंहरूले प्रयोग गरेको म सम्झन्छु । अभाव, दबाब र प्रभावका कारणले हामी प्रताडित छौँ । समस्याग्रस्त छौँ । हाम्रो अध्ययनले त्यतिमात्रै भनेन । अभाव, प्रभाव र दबाब त हुँदै हो । त्यो भन्दा पनि बढी अहिले झुकाव, तपाईंको स्वभाव र तपाईंको लगावले हाम्रा आम सञ्चार माध्यमहरू रेडियो, पत्रपत्रिकाहरू अप्ठ्यारोमा परेका छन्’, थपलियाले भने, ‘तीनवटालाई त समाधान गर्ने अर्को बाटो खोजौँला । यो तीन वटा त तपाईंले नै गर्ने त हो नि । तपाईंको लगावबाट तपाई मुक्त भएर स्वतन्त्र भइदिनु । तपाईंको झुकावलाई कहीँ, कतै नलगिकन मात्रै सञ्चारमाध्यमको स्वायत्तता र स्वतन्त्रतापट्टि निर्दिष्ट गरिदिनुस् । तपाईंको स्वभाव र शैली आफैँले बदल्ने हो । हामीले आफूभित्रको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा गम्भिरतापूर्वक हेर्न जरुरी छ ।’