
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतवार नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेर विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए ।
मन्त्री कुँवरले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरूको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरू खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए ।
मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने नेपाली मजदुरहरूभन्दा विदेशीहरू बढिरहेको भन्दै नेपाली श्रमिकहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गई काम गर्नेहरूका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । उनले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकहरूको नियमन गर्न नसकेको बताए ।
मन्त्री कुँवरले नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए । उनले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरूका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाखसम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गरे ।
मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।