वेस्ट इन्डिजसँगको शृंखलाको पहिलो टेस्टमा अस्ट्रेलिया १६४ रनले विजयी भएको छ ।
अस्ट्रेलियाको जीतमा मार्नस लाबुशाङले उत्कृष्ट योगदान गरे । पहिलो इनिङमा उनले २०४ रन बनाए भने दोस्रोमा पनि नटआउट १०४ रनको योगदान गरे ।
टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा चार विकेटको क्षतिमा ५९८ रनको विशाल स्कोर खडा गरेको थियो । लाबुशाङको २०४ का साथै स्टिभन स्मिथको २०० र ट्राभिस हेडको ९९ रनको सहायतामा अस्ट्रेलियाले रनको पहाड खडा गरेको थियो ।
जवाफमा वेस्ट इन्डिज २८३ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान क्रेग ब्रेथवेटले सर्वाधिक ६४ रनको योगदान गरे ।
अस्ट्रेलियाका बलरहरू कप्तान प्याट कमिन्स र मिशेल स्टार्कले तीन–तीन विकेट हात पारेका थिए ।
वेस्ट इन्जिलाई फलोअन नगराइक अस्ट्रेलिया आफैंले ब्याटिङ गरी दोस्रो इनिङमा दुई विकेटको क्षतिमा १८२रन बनाएर इनिङ डिक्लेयर गरेको थियो ।
जीतका लागि ४९८ रनको लगभग असम्भव लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३३३ रनमा समेटियो । उसका लागि ब्रथवेटले ११० रन बनाए पनि अन्य ब्याट्स्म्यानले खासै योगदान गर्न सकेनन् ।
अस्ट्रेलियाका नेथन लियोनले वेस्ट इन्डिजको ब्याटिङ अर्डर धराशायी पार्दै ६ विकेट हात पारे ।
शृंखलाको दोस्रो टेस्ट बिहीवारबाट एडलेडमा शुरू हुनेछ ।