२४ जेठ २०८३, आइतबार

हराउँदै गए हातले गाँसेका दुनाटपरी

मंसिर १९, २०७९
हराउँदै गए हातले गाँसेका दुनाटपरी

प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । 

मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो । 

धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।

पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला शहर, बजारमा मात्र नभई गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको कावासोती–११ का ७५ वर्षीय फेमनारायण पौडेल बताउँछन् ।

उनले भने, ‘गाउँघरमा केही सानो पूजा हुँदा समेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गासिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।’ 

उमेरले ८२ वर्ष पुगेकी देवचुली–१५ की हरिमायाँ भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गासेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको बताउँछिन् । चाडपर्वमा घरमा आउने  पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उनको गुनासोे छ । 

कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । ‘पहिला पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरी नै नदेख्ने हुन की भन्ने पिर लाग्छ,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्