३१ असार २०८३, बुधबार

फ्रान्सका राष्ट्रपति भन्छन्– पुटिनको आँखामा म घृणा देख्छु

मंसिर २०, २०७९
फ्रान्सका राष्ट्रपति भन्छन्– पुटिनको आँखामा म घृणा देख्छु
Tobias SCHWARZ / AFP

पश्चिमले रुसलाई नष्ट गर्न खोजेको विश्वास लिएकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आँखामा घृणा देखिएको फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले बताएका छन् । 

आइतवार सीबीएस न्युजसँग कुरा गर्दै म्याक्रोंले पुटिनको आँखामा पश्चिमी विश्वप्रति घृणाको भाव झल्किने बताए । 

सन् २००१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले पुटिनको आँखामा उनको आत्मा देखिने बताए जस्तै म्याक्रोंलाई पुटिनको आँखाका बारेमा सोधिएको थियो ।

‘रुसलाई नष्ट गर्ने दृष्टिकोण हामीले फ्रान्समा कहिले पनि लिएकै छैनौं,’ म्याक्रोंले बताए । 

पुटिनले रुसको भविष्यका बारेमा दृढ धारणा राखेको पनि म्याक्रोंले जानकारी दिए । 

‘रुसीहरू महान् छन् र उनीहरूको इतिहास महान् छ भन्ने बारेमा पुटिनले स्पष्ट धारणा राखेका थिए,’ म्याक्रोंले भने, ‘अनि उनको दृष्टिकोण र शायद भाग्यमा साम्राज्यको पुनर्बहाली लेखिएको छ ।’

युक्रेन द्वन्द्वका क्रममा पनि आफूले पुटिनसँगको संवाद कायम राख्न प्रयास गरेको म्याक्रोंले बताए । 

‘म राष्ट्रपति पुटिनसँग नियमित छलफल गरिरहेको हुन्छु र प्रत्यक्ष सम्पर्क पनि बनाइरहेको हुन्छु,’ उनले भने, ‘किनकि प्रत्यक्ष सम्पर्क रह्यो भने मात्र वार्ता सम्भव हुन्छ । पुटिन जस्ता नेतालाई एक्ल्याउनु सबभन्दा खराब काम हो ।’

फ्रान्सले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छ र रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्धलाई समर्थन पनि गरेको छ । तर म्याक्रोंले गत साता युक्रेन द्वन्द्व अन्त्य भएपछि रुसका लागि सुरक्षा प्रत्याभूति दिलाउन नेटोले तयारी गर्नुपर्नेमा जोड दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्