१२ असार २०८३, शुक्रबार

पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम

मंसिर २१, २०७९
पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम
प्रतिकात्मक तस्वीर

पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ ।
 
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण संघ आर्सो नेपाल, टीजीएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनः लाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ ।
 
आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्षमतामा समेत वृद्धि हुने जानकारी दिए । तालिमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ । 

मंसिर १९ गते सोमवारबाट सञ्चालन गरिएको तालिममा ४० सहभागी छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारीले पर्यटकलाई राम्रो सत्कार गर्न सके पाँचपोखरी पर्यटनका माध्यमबाटै समृद्ध हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पूर्वाधार विकास समितिका संयोजक एवं ३ नम्बर वडाका अध्यक्ष ङिमाछिरिङ तामाङ, ४ नम्बर वडाका अध्यक्ष कुलबहादुर बस्नेत, गाउँपालिकाका प्रशासन प्रमुख रामप्रसाद न्यौपाने, थाङ्पाल उपत्यका एकीकृत पुनः लाभ कार्यक्रमका संयोजक तामाङ लगायतले पाँचपोखरीको पर्यटन उकास्न होटल र होमस्टेको महत्त्वपूर्ण भूमिका रहने बताए ।

तालिमका सहभागी दोकदोक तामाङले कार्यक्रमले थप सिकाइ र आत्मविश्वास बढ्ने बताए ।

तालिमको आगन्तुक रिसोर्ट प्रालिका व्यवस्थापक विमल पौड्याल, होटल यात्री ठमेलका एसिस्टेन्ट चिफ मोहनकुमार बस्नेत लगायतले सहजीकरण गरिरहेका छन् । पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गरेमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भई गाउँपालिकाको आयस्रोत बढ्ने विश्वास लिइएको गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्