२८ जेठ २०८३, बिहीबार

निगमको नेतृत्वले क्षमता विकास गर्न सकेनः पर्यटनमन्त्री श्रेष्ठ

मंसिर २१, २०७९
निगमको नेतृत्वले क्षमता विकास गर्न सकेनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाए । 

मन्त्री श्रेष्ठले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था बाह्य तथा आन्तरिक उडानमा थला परेको बताए । उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताए । 

मन्त्री श्रेष्ठले वायुसेवा निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताए । उनले प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको बताए । उनले सरकारले नियुक्त गरेको अयोग्य व्यक्तिलाई नियमित तलब खुवाएर राख्नै पर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको बताए । उनले निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद रहेको भन्दै कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक भएको बताए । 

मन्त्री श्रेष्ठले निगमले सरकारले गरेको लगानी उठे नउठेको विषयमा मौन बसेर विगतको भन्दा अहिले आम्दानी गरेँ भनेर निगम नेतृत्वले तर्क पेश गर्नु हास्यास्पद भएको बताए । उनले निगम आफैले प्रतिष्पर्धी बनाउन आवश्यक रहेको भन्दै सधैं राज्यले लगानी गरेर निगम चलाउन नसक्ने बताए । 

‘जनताको लगानी भएको संस्थाबाट जनताले नै सेवा नपाउनु देशको समस्या हो। अयोग्य व्यक्तिका कारण जनताले सेवा लिन सकेका छैनन् । अनि यस्तै नेतृत्व निरन्तरताका लागि अदालतबाट स्टे आउँछ । म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्न पाइँदैन । यो बिडम्बना हो । देशकै लागि दुर्भाग्यको कुरा हो । प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको छ । सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलब खुवाएर राख्नैपर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक छ’, मन्त्री श्रेष्ठले भने, ‘निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद हो । संसार ठप्प भएको बेला कहाँबाट आम्दानी हुन्छ । कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक हो । तर जुन स्रोतसाधनमा गरेको लगानी उठेको छ कि छैन महत्वपूर्ण कुरा हो । हिजो भन्दा आज आम्दानी गरेँ भनेर तर्क पेश गर्नु हास्यास्पद हो ।’

मन्त्री श्रेष्ठले नेपालको आकाश हवाई उडान सुरक्षित रहेको बताए । उनले अन्तर्राष्ट्रिय निकायहरूले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नभएको भन्दै प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको बताए । उनले नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाको विषयमा कसैसँग सम्झौता गर्नु नहुने बताए ।

मन्त्री श्रेष्ठले नेपालको हवाई उडान आइकाओको कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए । उनले हवाई सुरक्षा नीतिको विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताए । उनले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षाको लागि कामका आधारमा चाँडै कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्