
निर्वाचन आयोगले मंसिर २६ गते (सोमवार)सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिवार बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानूनी व्यवस्था भएकाले सोहीअनुसार काम गर्ने बताए ।