नेपालगन्ज, ३० साउन- डुडुवा गाउँपालिका–१ टेपरी बाँकेका जितबहादुर मौर्यको परिवार दुई दिनदेखि धमिलो पानी र कुहिएको खाना खाएर गुजारा चलाउँदै छन् । उता महोत्तरी कारागारका कैदीबन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि कैदीबन्दीले खाना पाएका छैनन् ।

लगातारको वर्षका कारण मुलुकका अधिकांश भूभाग जलमग्न हुँदा मृत्यु हुनेको संख्या वृद्धिसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका बाढीप्रभावित अधिकांश जिल्लाका गाउँहरू एकअर्कोसँग सम्बन्ध विच्छेदमा छन् भने पीडितहरूले भिजेका, कुहिएका खाना र धमिलो पानी खाएर गुजारा गर्न थालेका छन् । बाढीका कारण तत्काल राहत र उद्धार हुन नसकेका क्षेत्रका बासिन्दामा प्रदूषित खाना र पानीका कारण जुनसुकै बेला महामारी फैलन सक्ने भन्दै चिकित्सकले चेतावनी दिए पनि विकल्प नहुँदा पीडितहरू प्रदूषित खाना खान बाध्य छन्, राजधानी दैनिकमा खबर छ ।