३० जेठ २०८३, शनिबार

आयोजनाको काम रोक्न माग गर्दै स्थानीय आन्दोलित

मंसिर २५, २०७९
आयोजनाको काम रोक्न माग गर्दै स्थानीय आन्दोलित

चम्पावती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सिमाना चेपेनदीमा निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजनाको काम रोक्न माग गर्दै लमजुङ राइनास नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । 

७ मेगावाट क्षमताको सो आयोजनाले राइनास क्षेत्रको गौरवको योजना राइनासटार सिँचाई योजनालाई प्रभावित पार्ने भन्दै राइनास नगरपालिका १ देखि ७ सम्मका उपभोक्ता आन्दोलनमा उत्रेका हुन् । शनिबार साइट कार्यालय रहेको गोरखाको सिनानचोक गाउँपालिका २ कुविन्डेमा स्थानीयले आन्दोलन गरे । 

आन्दोलित स्थानीयले आयोजनाको कार्यालयमा ढुंगामुढा गरेका छन् । तीन तला रहेको कार्यालय भवनको झ्यालका सिसाहरु ढुंगा लागेर फुटेका छन् । सवारी साधन र टहरामा समेत स्थानीयले आगजनी गरेका छन् । 

सिँचाई योजनाका उपभोक्ताले आफूहरुले प्रयोग गर्दै आइरहेको पानीको नहर पूर्ण रुपले बन्द हुनेगरी जलविद्युत आयोजनाको पावरहाउस निर्माण भइरहेको भन्दै आपत्ति जनाएका छन् । स्थानीयले डिजाइन परिवर्तनको माग गरेका छन् ।

राइनासटार सिंचाई योजना जल उपभोक्ता समितिका कोषाध्यक्ष गोविन्दराज न्यौपानेले  जलविद्युत आयोजनालाई ध्यानाकार्षण गराउँदा पनि अटेरी गरेपछि आन्दोलन गर्न बाध्य भएको बताए । गत असोज २० गते कम्पनीका निर्देशक हरिराम पराजुलीसँग कार्यदल बसेर छलफल समेत भएको उनको भनाइ छ । 

आयोजना निर्माण हुनुभन्दा पहिला नहरको मुहान भन्दा माथि पानी खसाल्ने निर्णय भए पनि मुहानभन्दा तल पानी खसाल्ने गरी निर्माणको काम अघि बढेकाले आफूहरु आन्दोलित भएको उनले बताए । 

स्थानीय कृष्णराज ओलियाका अनुसार आयोजनाका करिव १८ हजार उपभोक्ता रहेको र जलविद्युतको पावरहाउसले गर्दा उपभोक्ता मर्कामा पर्नेछन् । यस विषयमा दवावको अभियान अघि बढाएको उनले बताए ।

स्थानीय उपभोक्ता इन्जिनियर प्रकाश न्यौपानेले जलविद्युत आयोजनाले ३० बर्ष अघि सम्पन्न भइसकेको योजनालाई प्रभावित पार्ने काम भएको बताए । पावरहाउस बनाउँदा हिउँदमा सिंचाई योजनाको नहरमा पानी नजाने तरिकाले काम भएकाले त्यसलाई सच्याउनुपर्ने उनको भनाइ छ । स्थानीय बलराम घिमिरेले सिँचाईकै कारण उत्पादनमा स्थानीय कृषक आत्मनिर्भर हुन थालेको अवस्थामा सिँचाई प्रभावित पारेर पीडा दिन नहुने बताए ।  

राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले जलविद्युत आयोजनाले डीपीआर अनुसार काम नगर्दा नागरिक आन्दोलनमा जान बाध्य भएको बताए । आयोजनाले डीपीआर अनुसार काम गरेमा नागरिक शान्त हुने उनको बुझाइ छ । 

जलविद्युत आयोजनाका प्रोजेक्ट इन्चार्ज सजल मानुसीले पावरहाउसको ५० प्रतिशत काम सकिएको बताए । डिजाइन अनुसार नै काम भएको उनको जिकिर छ । सिंचाई योजनाको इन्टेकभन्दा माथि खसाल्ने गरी नै काम भएको उनले बताए । पावरहाउसका कारण सिँचाईमा कुनै असर नपर्ने उनले दावी गरे । 

इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका बरिष्ठ सई पर्शुराम जोशीका अनुसार आगजनीबाट २ वटा मिनि ट्रक जलेको छ । ट्रकमा ३ सय ४० बोरा सिमेन्ट राखिएका थिए । दुई वटा मोटरसाइकल समेत जलेको उनले बताए । कार्यालयभित्र रहेका कम्प्युटर, फर्निचरका सामग्री पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्