
नविल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नविल स्कुल अफ सोसल इन्टरपे्रनरसिप कार्यक्रम शुरु गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सामाजिक उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम शुरु गरेको हो ।
बैंकले शुरुवातमा वागमती प्रदेशबाट पहिलोसत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन शुरु गरेको छ । उद्यमशीलतामा रुचि राख्ने १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाई लक्षीत गर्दै दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेशन कोष कार्यक्रम शुरु गरिएको नविल बैंकका नायव कार्यकारी निर्देशक भुपेन्द्र पाण्डेले बताए ।
नविल बैंकले शुरु गरेको कोषमा विद्यार्थीलाई प्रोत्साहन गरेको पाइएको उनले दावी गरे । पाण्डेले विगतमा विद्यार्थीले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाइ सकेर उद्यमशील बनाउन कार्यक्रमले पे्ररित गर्ने बताए ।
अहिले २५ जनाको सहभागिता रहेको उनको भनाइ छ । बैंकले देशका सात वटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । पाण्डेले नविल बैंकले नाफामा मात्रै नभएर उद्यमशीलताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको बताए । सहभागी विद्यार्थीलाई नविल बैंकको टेक्निकल टिम तथा फिल्डभिजिट गराएर तालिम दिने गरेको उनले बताए ।
बैंकले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने बताइएको छ । नविल बैंकले उक्त रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दैआएको छ । यो वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले थप नयाँ नविल स्कुल अफ सोसल इन्टरपे्रनरसिप कार्यक्रम सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।