उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा हिउँचितुवाको गणना शुरु गरिएको छ । पहिलो पटक सन् २०२१ को नोभेम्बरदेखि नुब्री क्षेत्रमा हिउँचिनुवाको गणना गरिएको थियो । अहिले चुमभ्याली क्षेत्रमा गणना गर्न लागिएको डा. बिक्रम श्रेष्ठले जानकारी दिए ।
चेक ग्लोब, चेक एकेडेमिक अफ साइन्सको एक टोलीले हिउँचितुवाको गणना सुरु गरेको हो । सन् २०२१ मा हामीले नुब्री क्षेत्रमा ८० दिन लगाएर गणना गर्दा ४ वटा चितुवा फेला परेका थिए उनले भने, ‘चुमभ्याली क्षेत्रमा गणना गर्दैछौं, हेरौं कति फेला पार्न सकिन्छ ।’
तथ्याङ्क प्रारम्भिक रहेकाले बिस्तृत अध्ययन हुन बाँकी रहेको उनको भनाइ छ । हिउँचितुवाको बारेमा पीएचडी गरेका श्रेष्ठको नेतृत्वमा, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विषयमा स्नाकोत्तर गरेका सचेत तिमिल्सीना, वन रेञ्जरहरुको टोली गणनामा सहभागी छन् ।
गणनाका लागि ३ सय वर्गकिलोमिटरमा ग्रिड छुट्याएर ६० वटा क्यामेरा राख्ने डा. श्रेष्ठले बताए । प्यालास्का पनि खोज्ने योजना उनले सुनाए । उनका अनुसार प्यालास्का भनेको बिरालोभन्दा अलि ठूलो एक प्रकारको जंगली जनावर हो ।
यो जनावर पहिलो पटक सन् २०१२ मा मनाङमा फेला परेको थियो । यस पटक गणनासँगै हिउँचितुवाको बासस्थान रहेको मुख्य ठाउँको गणना सकिने उनले बताए । हिउँचितुवा लोपोन्मुख प्राणी हो । नेपालमा २५०० भन्दा माथि ५५०० मिटर उचाइसम्म हिउँचितुवाको बासस्थान रहेको अनुमान गरिन्छ ।
नेपालमा करिब ४०० हिउँचितुवा रहेको अनुमान गरिएको छ । गणना कार्य सम्पन्न गरेर सरकारलाई प्रतिवेदन बुझाउने उनले बताए । अध्ययन पूरा गर्न करिब ८० दिन लाग्ने उनको भनाइ छ ।