काठमाडौं, ३० साउन– अविरल वर्षासंगै आएको बाढी पहिरोको कारण तराई तथा पहाडी जिल्लाहरु अस्तव्यस्त बनेका छन् । तराइका धेरै जिल्ला अझै पनि जलमग्न छन् । यस्तो अवस्थामा विभिन्न सरुवा रोगको माहामारी फैलिन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्यले बाढी प्रभावित जिल्लाहरुमा डुवानका कारण खानेपानीको मुहानहरु दुसीत हुने भएकाले खानेपानी प्रयोगमा सचेत रहन आग्रह गरे ।
‘बाढीपछि प्रभावित क्षेत्रमा प्रकोपको रुपमा पानीबाट सर्ने रोगहरु देखिन सक्छन्, खानेपानीको मुहानहरुमा बाढीको पानी मिसिँदा पानी दूषित हुनसक्छ’ आचार्यले लोकान्तरसँग भने, ‘यसले गर्दा पानीबाट झाडापखला, आउँ, रगतमासी, हैजा, टाइफाइट र जन्डिस हुनसक्छ । अगिल्ला वर्षहरुमा पनि बाढिपीडितहरुमा यस्तै रोग देखिएको थियो ।’
विपदको समयमा खानेपानीकै कारण सरुवा रोगको माहामारी फैलिने गरेको आयर्चाले बताए । ‘विपदमा परेका व्यक्तिहरुले सम्भब भएसम्म पिउने पानी उमालेर चिसो बनाएर पिउनु पर्छ । सफा भाडामा हारेर पिउँदा यी रोगहरुबाट बच्न सकिन्छ’ उनले भने, ‘यदि पानी उमाल्ने सक्ने अवस्था छैन भने क्लोरिन ट्याब्लेट राखेर पानी पिउनु पर्छ ।’
यस्तो अवस्थामा खानेकुरा खादा पनि विशेष ध्यान दिन जरुरी रहेको डाक्टरहरु बताउँछन् । यस्तो समयमा काचो खाना र काचो फलफुल खान नहुने डा. आचार्यको भनाइ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले बाढी प्रभावित जिल्लाहरुमा हुन सक्ने स्वास्थ्य समस्या समाधानको लागि तयारी अवस्थामा रहेको समेत बताएको छ ।
बाढि प्रभावित जिल्लाका जनस्वास्थ्य कार्यलय तथा स्वास्थ्य संस्थाहरुलाई सरुवा रोगका औषधिहरु स्टक नै रहेको र सोही प्रयोग गर्न जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिइसकेको माहाशाखाका निर्देशक डा. आचार्यले बताए ।
विपद्को समयमा जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा प्रकोप महामारीको समयमा परिचालन गर्न ११ वटा स्वास्थ्यकर्मीको टिम रहेको भन्दै उनले रोगको माहामारी भएमा सो टिम सक्रिय भएर लाग्ने बताए ।
महोत्तरीमा झाडापखालाको प्रकोपबाढी प्रभावित जिल्लाहरुमा सरुवा रोगको प्रकोप देखिन थालेको छ । महोत्तरीको भङ्गा गाउँपालिकाको मुसहर वस्तीका बाढी पिडितहरुमा झाडापखलाको प्रकोप देखिएको हो । त्यहाँका करिव ३५ जनामा झाडापखलाको प्रकोप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्यले बताए ।
प्रकोप देखिएको स्थानमा जिल्लाको जनस्वास्थ्य कार्यलयको टिम आइतबार नैपुगिसकेको र बिरामीहरुको उपचार भइरहेको उनले बताए ।