२४ असार २०८३, बुधबार

एम्बाप्पेको स्पीड, मेसीको म्याजिक : निकै रोचक हुनेछ विश्वकप फाइनल

पुस १, २०७९
एम्बाप्पेको स्पीड, मेसीको म्याजिक : निकै रोचक हुनेछ विश्वकप फाइनल

फिफा विश्वकप २०२२ को फाइनल आइतवार खेलिँदैछ । 

फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । 

साबिक विजेता फ्रान्स उपाधि दोहोर्‍याउने सुर कसिरहेको छ भने ३६ वर्षदेखिको प्यास मेटाउन अर्जेन्टिना आतूर छ ।

फाइनलमा फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीबीच तीव्र प्रतिस्पर्धा हुनेछ । यी दुवै खेलाडी एउटै क्लब पेरिस सेन्ट जर्माँका लागि खेल्छन् । 

एम्बाप्पेको विशेषता भनेको उनको गति हो । बललाई आफ्नो नियन्त्रणमा राखेर बेतोडले दौडिँदै उनी विपक्षी डिफेन्डरहरूलाई हावाकावा खेलाउन माहिर छन् । 

उता मेसी अर्जेन्टिनाको सम्पूर्ण भार आफ्नो काँधमा राखेर जादू देखाइरहेका छन् । सेमिफाइनलमा उनले तीनवटै गोलमा गरेको योगदान देख्दा उनी आफ्नो फर्मको चरममा पुगेका छन् भन्न सकिन्छ । 

त्यसमाथि मेसी र एम्बाप्पे दुवै गोल्डन बूटका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन् । दुवैले समान ५–५ गोल गरेका छन् । तर असिस्टको मामिलामा मेसी अगाडि छन् । 

सन् २०१८ को विश्वकपको राउन्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा फ्रान्स ४–३ ले विजयी भएको थियो । त्यसमध्ये दुई गोल एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले उक्त विश्वकपको फाइनलमा समेत गोल गरेका थिए ।

उक्त खेलको नमीठो यादलाई भुलाउँदै अर्जेन्टिनाले फ्रान्सविरुद्ध सशक्त खेल प्रदर्शन गर्ने अपेक्षा छ । मेसी चम्के भने अर्जेन्टिनाले उपाधि जित्ने सम्भावना प्रबल छ । 

तर फ्रान्स चानचुने टीम नभएकाले फाइनल निकै रोचक हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्